काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर तथा पूर्वकप्तान रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ऐतिहासिक कीर्तिमान बनाएका छन्। उनी लिग–२ को एउटै संस्करणमा १ हजारभन्दा बढी रन बनाउने पहिलो नेपाली ब्याटर बनेका छन्।

रोहितले लिग–२ को जारी संस्करणमा ३६ मध्ये ३५ खेल खेल्दै ३२ इनिङमा कुल १ हजार ४ रन बनाएका हुन्। यसक्रममा उनले दुई शतक र पाँच अर्धशतक प्रहार गरेका छन्।

ADVERTISEMENT

यसअघि कुनै पनि नेपाली ब्याटरले लिग–२ को एउटै संस्करणमा १ हजार रनको आँकडा पार गर्न सकेका थिएनन्। रोहितको यो उपलब्धिले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटिङको क्षमता थप उजागर गरेको छ।

ADVERTISEMENT

लिग–२ को एउटै संस्करणमा १ हजारभन्दा बढी रन बनाउने ब्याटरहरूको सूचीमा नामिबियाका गेरहार्ड इरास्मस, पपुवा न्युगिनीका असद भाला, अमेरिकाका आरोन जोन्स, ओमानका जतिन्दर सिंह, स्कटल्यान्डका काइल कोएत्जर, क्यालम म्याकलियोड र जर्ज मुन्से तथा यूएईका भृत्य अरविन्द पनि छन्।

त्यस्तै, अमेरिकाका मिलिन्द कुमार, साईतेजा मुक्कामाल्ला र मोनांक पटेल, स्कटल्यान्डका ब्रेन्डन म्याकमुलन तथा नेदरल्यान्ड्सका म्याक्स ओ’डाउडले पनि यो उपलब्धि हासिल गरिसकेका छन्।

ADVERTISEMENT

अमेरिकाका कप्तान मोनांक पटेल लिग–२ का दुवै संस्करणमा १ हजारभन्दा बढी रन बनाउने एकमात्र ब्याटर हुन्। नेदरल्यान्ड्सका स्कट एडवर्ड्सले जारी संस्करणमा ९२० रन बनाएका छन्। उनले अन्तिम चरणका खेलमा थप ८० रन बनाउन सके यस विशिष्ट सूचीमा प्रवेश गर्नेछन्।

रोहितको यो कीर्तिमान नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि हो। लिग–२ मा उनको निरन्तर प्रदर्शनले नेपालको एकदिवसीय क्रिकेटमा ब्याटिङ पक्षलाई बलियो बनाउने अपेक्षा गरिएको छ।