काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। लिग–२ को अंकतालिकामा शीर्ष ६ मा स्थान बनाउन नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ।

ADVERTISEMENT

शृङ्खलाका सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई हराएको नेपाल शनिबार क्यानडासँग पराजित भएको थियो। त्यस हारसँगै नेपालको शीर्ष ६ मा रहने समीकरण थप चुनौतीपूर्ण बनेको छ।

ADVERTISEMENT

क्यानडाले नेपाललाई हराएपछि ३६ खेलबाट २९ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। ३५ खेल खेलेको नेपाल २८ अंकसहित सातौँ स्थानमा झरेको छ।

आज ओमानलाई पराजित गर्न सके नेपाल पुनः छैटौँ स्थानमा उक्लिनेछ। त्यसैले यो खेल नेपालका लागि अंक जोड्ने अवसर मात्र नभई शीर्ष ६ को दौडमा कायम रहने निर्णायक अवसरसमेत हो।

ADVERTISEMENT

लिग–२ को शीर्ष ६ मा रहने टोलीले ओडीआई मान्यता जोगाउने सम्भावना बलियो बनाउने भएकाले नेपालका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ।