काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत श्रीलंकासँगको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली प्रतियोगिताबाट बाहिरिएको छ।

करोगी एथलेटिक पार्कमा हुने तय भएको खेलमा भारी वर्षाका कारण टससमेत हुन सकेन। खेल रद्द भएपछि आईसीसी टी–२० वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको हो। श्रीलंका वरीयतामा नवौँ र नेपाल १४औँ स्थानमा छन्।

ADVERTISEMENT

श्रीलंकाले अब सेमिफाइनलमा साविक विजेता भारतसँग खेल्नेछ।

ADVERTISEMENT

यसअघि वर्षाकै कारण पाकिस्तान–हङकङ तथा भारत–अफगानिस्तानबीचका क्वार्टरफाइनल खेल पनि रद्द भएका थिए। खेल रद्द भएपछि वरीयताका आधारमा पाकिस्तान र भारतले सेमिफाइनलमा स्थान बनाएका छन्। पाकिस्तान टी–२० वरीयतामा छैटौँ र भारत शीर्ष स्थानमा छन्।

एसियाडको क्रिकेटमा क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका लागि रिजर्भ डे राखिएको छैन। खेल रद्द भएमा आईसीसी वरीयतामा माथि रहेको टोलीलाई अघिल्लो चरणमा पठाउने व्यवस्था छ।

ADVERTISEMENT

नेपाल भने समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको थियो। समूह चरणमा नेपाल र जापानबीचको खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल समूह विजेता बनेको थियो।

श्रीलंकासँगको खेल पनि वर्षाले प्रभावित भएपछि नेपाल नखेलिकनै प्रतियोगिताबाट बाहिरिएको हो। यससँगै एसियाड क्रिकेटमा नेपालको पदक जित्ने सम्भावना समाप्त भएको छ।

यसअघि सन् २०२४ को टी–२० विश्वकपमा पनि नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको थियो।

एसियाडबाट बाहिरिएसँगै नेपाली टोली अब आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि ओमान जानेछ। लिग–२ को शीर्ष चारमा पर्न नसके नेपालले प्लेअफमार्फत विश्वकप छनोटको यात्रा तय गर्नुपर्नेछ।