काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
अल अमेरत क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। नेपालले यस शृङ्खलामा लगातार दुई खेल जित्दै राम्रो सुरुवात गरेको छ। नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक ओमानलाई ११३ रनले हराएको थियो।
लिग–२ को अंकतालिकामा नेपाल छैटौँ स्थानमा छ। ३४ खेलबाट २८ अंक जोडेको नेपाललाई शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्न आजको खेल महत्त्वपूर्ण हुनेछ। ३५ खेलबाट २७ अंक जोडेको क्यानडा सातौँ स्थानमा छ।
क्यानडाले यसअघि ओमानसँगको खेलमा जित निकालेको थियो। त्यसैले आजको प्रतिस्पर्धा दुवै टोलीका लागि अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने महत्त्वपूर्ण अवसर हुनेछ।
नेपालले आज क्यानडालाई पराजित गरे शीर्ष ६ मा रहने सम्भावना बलियो बनाउनेछ। पराजित भएमा अन्तिम खेलमा ओमानविरुद्ध जित निकाल्नु नेपालका लागि थप महत्त्वपूर्ण हुनेछ।
नेपालले शृङ्खलाको अन्तिम खेल आगामी सोमबार ओमानसँग खेल्नेछ।











