काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा एक कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो । नेपाली टोलीलाई राखेप सदस्य सचिव रामचरित्र मेहता, क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरे ।

ADVERTISEMENT

क्यानका सचिव पारस खड्का देशमा आएको बाढीको दुखद घटनापछि समग्र देशलाई नै खुसी दिने अवसर भएको बताए । ‘देशमा आएको बाढीको दुखद घटनापछि समग्र देशलाई नै खुसी दिने अवसर छ,सबैजनालाई आफ्नो बेस्ट दिनुहोला भन्न चाहन्छु,’ उनले भने ।

ADVERTISEMENT

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहता क्रिकेटले पदक जित्नेछ भन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘क्रिकेट टोलीलाई‌ शुभकामना छ, क्रिकेटले पदक जित्नेछ भन्ने विश्वास राखेका छौं, सबैजना राम्रो गर्नुहोला ।’

कप्तान दीपेन्द्रसिंह ऐरीले पदक जित्ने लक्ष्यसहित एसियन गेम्समा सहभागी हुन लागेको बताए ।  ‘ हाम्रो लक्ष्य पदक जित्ने नै हो, त्यसैको लागि जाँदै छौं । खेलाडीहरूको मनोबल उच्च छ,’ उनले भने ।

ADVERTISEMENT

प्रशिक्षक स्टुअर्ट लले क्वाटरफाइनलबाट अगाडि बढ्न राम्रो क्रिकेट खेल्नुपर्ने उल्लेख गरे । उनले भने, ‘हामीले क्वाटरफाइनलबाट अगाडि बढ्न राम्रो क्रिकेट खेल्नुपर्छ, हाम्रा खेलाडीहरूले त्यो गर्न सक्छन् भन्ने विश्वास छ । आशा छ हामी कुनै पदक अवश्य जित्न सक्नेछौं ।’

नेपालले एसियन गेम्समा अफगानिस्तान र जापानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनलमा नेपालको भेट भारत वा श्रीलंकासँग हुनेछ ।

नेपालको टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), रोहित कुमार पौडेल,‍ सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल