सुर्खेत । लगातारको हिमपातका कारण अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक सोमबार बेलुकीदेखि सञ्चालनमा आएको छ। नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन कठिन भएको थियो।

सडकमा थुप्रिएको हिउँ उपकरण र जनशक्ति परिचालन गरी पन्छाएपछि यातायात सञ्चालनमा ल्याइएको सडक योजना प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए। उनका अनुसार लगातार तीन पटकसम्म हिमपात भएपछि सडक खुलाउन चुनौती भएको थियो।

ADVERTISEMENT

करिब ९५ किलोमिटर लामो सिमकोटदेखि चीनको सीमावर्ती क्षेत्र हिल्सासम्मको सडक हिमपातका कारण अवरुद्ध भएको थियो। विशेषगरी यारीदेखि हिल्सासम्मको करिब १५ किलोमिटर सडकखण्डमा बाक्लो हिउँ जमेको थियो।

ADVERTISEMENT

समुद्री सतहबाट चार हजार पाँच सय मिटरभन्दा बढी उचाइमा रहेको नारा लेक क्षेत्रमा अत्यधिक हिउँ जमेकाले सडक खुलाउन बढी समय लागेको नेपालीले बताए। “नारा लेक क्षेत्रमा कतिपय ठाउँमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेको थियो,” उनले भने।

आयोजनाका अनुसार ठाडोढुङ्गादेखि हिल्सातर्फको सडकमा सबैभन्दा बढी हिउँ जमेको थियो। सडकमा जमेको हिउँ पन्छाउन जेसीबी प्रयोग गरिएको थियो। सडक योजना कार्यालयले आफ्नै उपकरण, इन्धन र मेसिन अपरेटर परिचालन गरेर सडक सञ्चालनमा ल्याएको नेपालीले बताए।

ADVERTISEMENT

दसैँ मनाउन घर फर्किने नेपालीलाई राहत

सडक अवरुद्ध हुँदा हिल्सा क्षेत्रमा रहेका स्थानीयवासी तथा पर्यटक प्रभावित भएका थिए। चीनको पुराङ तथा ताक्लाकोट क्षेत्रमा व्यापार र रोजगारीका लागि पुगेका हुम्लासहित विभिन्न क्षेत्रका नेपालीसमेत आवागमन अवरुद्ध भएपछि समस्यामा परेका थिए।

सडक खुलेसँगै हिल्सा नाका हुँदै नेपाल प्रवेश गर्ने र घर फर्किने नेपालीलाई सहज भएको छ। विशेषगरी दसैँ मनाउन स्वदेश तथा घर फर्किने तयारीमा रहेका नेपालीका लागि सडक सञ्चालनमा आउनु राहत बनेको छ।

हिमपातका कारण लामो समय आवागमन प्रभावित हुँदा घर फर्किने प्रतीक्षामा रहेका नेपाली सडक खुलेपछि गन्तव्यतर्फ लाग्न थालेका छन्। सडक सञ्चालनमा आएसँगै हिल्सा नाका हुँदै हुने आवतजावत पनि पुनः सहज बनेको छ।

५५ किलोमिटर सडकमा ग्राभेलिङ

आयोजनाका अनुसार ९५ किलोमिटर लामो सिमकोट–हिल्सा सडकखण्डमध्ये करिब ५५ किलोमिटरमा ग्राभेलिङ गरिएको छ। बाँकी सडकमा ट्र्याक खोलिएको अवस्थामा रहेको छ।

उच्च हिमाली क्षेत्रमा पर्ने यो सडकमा हरेक वर्ष हिमपातका कारण आवागमन प्रभावित हुने गरेको छ। विशेषगरी नारा लेक क्षेत्रमा अत्यधिक हिमपात हुँदा सडक अवरुद्ध हुने र यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ।

यसपटक पनि बाक्लो हिउँका कारण सडक अवरुद्ध भएपछि आयोजनाले उपकरण र जनशक्ति परिचालन गरेर हिउँ पन्छाएको हो। सडक पुनः सञ्चालनमा आएसँगै हिल्सा क्षेत्रका स्थानीयवासी, पर्यटक, व्यापारी तथा रोजगारीका लागि चीन पुगेका नेपालीलाई आवतजावतमा सहजता भएको छ।