काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्। विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन सोचसँगै व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको बताएका हुन्।
प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विजयादशमीले सत्यको विजय र असत्यमाथि पराजयको सन्देश दिने उल्लेख गरेका छन्।
पौराणिक मान्यताअनुसार देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको र भगवान् रामले रावणको अन्त्य गरेको प्रसङ्गसँग जोडेर विजयादशमी मनाइने उनले बताएका छन्। यस पर्वले अन्याय, अधर्म र नकारात्मक प्रवृत्तिमाथि सत्य तथा सदाचारको विजय हुने सन्देश दिने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले मानिसलाई सत्कर्मतर्फ अघि बढ्न प्रेरित गर्ने बताएका छन्। टाढा रहेका आफन्त तथा मान्यजनलाई भेटेर आशीर्वाद लिने चलनले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप सुदृढ बनाउने उनले उल्लेख गरेका छन्।
उनका अनुसार विजयादशमीले मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिन्छ। पर्वको मूल सन्देशलाई व्यवहारमा उतार्दै समाजमा व्याप्त विकृति र विसङ्गति हटाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने उनको धारणा छ।
प्रधानमन्त्री शाहले भ्रष्टाचार र कुशासनको अन्त्यसँगै सरकारी सेवामा हुने ढिलासुस्ती, सामाजिक असमानता र राजनीतिक विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको बताएका छन्। प्रत्येक नागरिकले सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने अवस्था निर्माण गर्नु आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन्।
उनले परिवर्तनका लागि सकारात्मक सोच राख्नु मात्रै पर्याप्त नहुने भन्दै त्यसलाई व्यवहारमा समेत लागू गर्नुपर्नेमा जोड दिएका छन्। सुशासन, जवाफदेहिता र नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको उनको सन्देशको आशय छ।
विजयादशमीले नेपालको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री शाहले बताएका छन्। विभिन्न वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई आपसी सद्भावको सूत्रमा बाँध्ने यस पर्वले लामो समयदेखि टाढिएका साथीभाइ तथा आफन्तसँग भेटघाट गरी माया र आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले सबै नेपालीलाई आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउन तथा एकअर्काप्रति सद्भाव, सम्मान, एकता र प्रेमको भावना अभिव्यक्त गर्न आग्रह गरेका छन्।
उनको शुभकामना सन्देशले विजयादशमीलाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा मात्रै नभई सामाजिक विकृति अन्त्य गर्ने, आपसी सम्बन्ध सुदृढ बनाउने र मुलुकमा सकारात्मक परिवर्तनका लागि सामूहिक सङ्कल्प गर्ने अवसरका रूपमा लिनुपर्ने सन्देश दिएको छ।











