काठमाडौं । लगानीको स्रोत, बिचौलियाहरुसँगको शंकास्पद साझेदारी र सम्पत्ति विवरण विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई भेटेका छन् । उनी बूढानीलकण्ठस्थित निवासमै पुगेर रविलाई भेटेका हुन् ।

गुरुङमाथि विवादित व्यवसायी दीपक भट्टको कम्पनीको सेयरमा लगानी देखिएको तथा लगानीको स्रोत नखोलेको जस्ता आरोप लागेको छ । गुरुङलाई बर्खास्त गर्न सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहमाथि दबाब छ । यद्यपि गुरुङले भने आफूले ऋण सापटी लिएर सेयर खरिद गरेको भन्दै सोमबार सामाजिक सञ्जालमार्फत लामो प्रष्टीकरण दिएका थिए ।

सरकारका गृहमन्त्रीमाथि गम्भीर आरोप लागेको विषयमा सोमबारको रास्वपा केन्द्रीय समिति बैठकमा त्यसबारे कसैले कुरा नउठाएको भन्दै आलोचना भइरहेको छ । अहिलेसम्म एकजना रास्वपाका नेताले पनि यो विषयमा कुरा उठाएका छैनन् । यसै विषयलाई लिएर उनले राजीनामा दिनुपर्ने भन्दै आवाज उठेको छ ।

आइतबार पनि गुरुङले रविलाई उनकै निवासमा पुगेर भेटेका थिए । दुवैबीच ४५ मिनेट कुराकानी भएको थियो । सोमबार बेलुकी पौने ७ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्री बालेन र लामिछानेबीच पनि सोही निवासमा कुराकानी भएको थियो । सुधनले सोमबार प्रधानमन्त्री बालेनलाई लिखित प्रस्टीकरण बुझाएका थिए ।

यसरी तारान्तार पार्टी सभापति लामिछानेलाई गुरुङले भेट्नुले उनले आजै राजीनामा दिन लागेको अनुमान गरेका छन् । प्रधानमन्त्री बालेनले आज साढे ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । रविसँगको भेटले गुरुङ मन्त्रिपरिषद् बैठकमा सहभागी हुने नहुने निर्क्योल हुने छ ।