काठमाडौं । नेकपा एमालेले विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ माथि उच्चस्तरीय छानबिन संयन्त्र गठन गर्न माग गरेको छ।
मंगलबार एमालेका केन्द्रीय सदस्य तथा प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै गुरुङसँग सम्बन्धित सबै विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।
विज्ञप्तिमा गृहमन्त्रीमाथि तत्काल अनुसन्धान प्रक्रिया सुरु गर्नुपर्ने मागसमेत गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा (एमाले) जोडदार माग गर्दछ। यसका लागि अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ, गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्च स्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गरियोस।’
एमालेले गुरुङलाई अनुसन्धान प्रक्रियालाई सहज बनाउन मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ।
पार्टीले विधिको शासन र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सबै नागरिकका लागि कानून समान रूपमा लागू हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।







