काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज आफ्नो टोलीसहित रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका छन्। वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्या र गुनासो बढ्दै गएपछि गृहमन्त्री गुरुङ प्रत्यक्ष अवलोकनका लागि उक्त क्षेत्रमा पुगेका हुन्।
निरीक्षणका क्रममा मन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको वर्तमान अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती, सडक तथा अन्य पूर्वाधारको वास्तविक स्थिति अध्ययन गरेका छन्। स्थानीय तहका जनप्रतिनिधि र सम्बन्धित निकायका अधिकारीहरूसँग छलफल गर्दै उनले बाढीका कारण हुने क्षति न्यूनीकरणका उपायहरूबारे जानकारी लिएका थिए।
उनले विशेषगरी बर्खा सुरु हुनुअघि नै जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न जोड दिएका छन्। सम्भावित बाढीबाट हुने क्षति घटाउन पूर्वतयारी, प्रभावकारी योजना निर्माण र सम्बन्धित निकायबीच समन्वयलाई प्राथमिकतामा राख्नुपर्ने उनले औंल्याएका छन्।
स्थानीयवासीहरूले प्रत्येक वर्ष बाढीका कारण घरधुरी विस्थापित हुने, खेतीयोग्य जमिन कटान हुने तथा आधारभूत पूर्वाधारमा क्षति पुग्ने समस्या झेल्दै आएका छन्। सोही समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउन मन्त्री गुरुङको यो निरीक्षणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
सरकारले आगामी वर्षायामलाई लक्षित गरी जोखिम न्यूनीकरणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।








