काठमाडौं। गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणमा उनको विभिन्न क्षेत्रका सम्पत्ति र लगानी खुलाइएको हो।
सार्वजनिक विवरण अनुसार गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको उल्लेख छ। त्यस्तै, उनको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ, जसलाई उनले लगानीबाट जोडिएको सम्पत्ति भनेर उल्लेख गरेका छन्।
उनका परिवारको नाममा समेत उल्लेख्य जग्गा रहेको देखिन्छ। उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा तथा बाजे रामसल गुरुङको नाममा (बाँडफाँट नभएको) गोरखाको चुननुब्री क्षेत्रमा २ सय २१ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ।
त्यसैगरी, गृहमन्त्री गुरुङको शेयर बजारमा ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी रहेको देखिएको छ। उनले विभिन्न कम्पनीहरूमा शेयर लगानी गरेको विवरण सार्वजनिक गरेका छन्।
होप होल्डिङ्स प्रालिमा ३० हजार कित्ता शेयर (करिब ३० लाख रुपैयाँ) तथा लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय कित्ता शेयर (करिब ५७ लाख रुपैयाँ) रहेको उल्लेख छ। साथै, एड्भेन्चर भिल्ला प्रालिमा ७० हजार कित्ता शेयर रहेको र यसको मूल्य करिब ७० लाख रहेको छ।
सबैभन्दा ठूलो हिस्सा भने धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा रहेको छ, जसमा उनले २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी रहेको बताएका छन्।







