काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी देखिएको भन्दै गृहमन्त्री सुधन गुरुङले आइतबारदेखि डिपोमा सादा पोसाकका प्रहरी खटाएका छन् ।
भारतबाट हुने ग्यास आयातमा कुनै अवरोध नभए पनि बजारमा एकाएक अभाव देखिएपछि गृह र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका ग्यास डिपोहरूमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
ग्यासको मौज्दात हुँदाहुँदै पनि उपभोक्तालाई रित्तो सिलिन्डर फर्काउने र लुकिछिपी महँगोमा बिक्री गर्ने उजुरी बढेपछि उद्योगमन्त्री गौरीकुमारी यादवले यसमा गम्भीर चासो देखाएकी थिइन। आपूर्ति सहज हुँदाहुँदै कृत्रिम संकट खडा गरेर जनतालाई सास्ती दिने कार्य सह्य नहुने भन्दै उनले गृहमन्त्री गुरुङसँग तत्काल अनुगमन र हस्तक्षेपका लागि आग्रह गरेपछि डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको हो ।
उपत्यकाका बिक्री केन्द्र र डिपोहरूमा सादा पोसाकका प्रहरीले ग्राहक बनेर निगरानी गरिरहेका छन्। ग्यास लुकाएर स्टक राखेमा,कृत्रिम अभाव देखाएर उपभोक्तालाई फिर्ता पठाएमा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेमा कारबाही हुने छ ।
गृह मन्त्रालयका अनुसार यदि कुनै डिपो वा बिक्रेताले बदमासी गरेको भेटिएमा उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर हदैसम्मको कानुनी कारबाही गरिनेछ।
काठमाडौँ उपत्यकाको यो अनुगमनको नतिजा हेरेर आवश्यकता अनुसार देशभरका अन्य जिल्लामा पनि सादा पोसाकका प्रहरी परिचालन गरी बजारलाई सन्तुलित बनाउने सरकारको तयारी छ। आपूर्ति व्यवस्था सामान्य रहेको अवस्थामा उपभोक्तालाई नआत्तिन र कतै कालोबजारी भएको पाइएमा तुरुन्तै प्रशासनलाई खबर गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।




