भरतपुर।गृहमन्त्री सुधन गुरुङले लागुऔषध तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्।भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा आयोजित कार्यक्रममा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई सम्बोधन गर्दै उनले जनअपेक्षाअनुसार सुशासन कायम गर्न दृढतापूर्वक काम गर्न आग्रह गरेका हुन्। उनले लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै निर्मम ढंगले अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गृहमन्त्री गुरुङले नागरिकले प्रत्यक्ष महसुस गर्नेगरी छिटोछरितो र प्रभावकारी सेवा प्रवाहमा जोड दिएका छन्।
यस क्रममा उनले जिल्लाका विभिन्न स्थानको निरीक्षण तथा अवलोकन पनि गरेका छन्। शनिबार राति उनले नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरो प्रभावित क्षेत्र घोप्टेभीर र तुइन खोलाको निरीक्षण गर्दै वर्षायाममा समस्या दोहोरिन नदिन छिटो र प्रभावकारी रूपमा काम अघि बढाउन निर्देशन दिएका छन्।
त्यसैगरी, गृहमन्त्री गुरुङ पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने दाउन्ने सडकखण्डको निरीक्षणका लागि नवलपरासी (पूर्व) तर्फ प्रस्थान गरेको जनाइएको छ।