काठमाडौं । जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको जोखिम बढ्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फोहोर नजलाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
महानगरको वातावरण विभागले सवारीसाधन, निर्माण कार्य, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला ठाउँमा प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने धुवाँलाई वायु प्रदूषणका प्रमुख कारणका रूपमा औँल्याएको छ ।
विभाग प्रमुख सरिता राईले प्रदूषण नियन्त्रणका लागि मापदण्डविपरीतका गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेकी छन् ।
महानगरका अनुसार वायु प्रदूषणबाट विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी र दीर्घरोगी बढी जोखिममा पर्न सक्छन् ।
प्रदूषण कम गर्न सवारीसाधन प्रचलित मापदण्डअनुसार सञ्चालन गर्न, नियमित मर्मतसम्भार गर्न तथा निर्माण सामग्री सडक र फुटपाथमा नराख्न महानगरले आग्रह गरेको छ ।
त्यस्तै, उद्योग, कलकारखाना तथा अस्पतालले महानगरको प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ ले तोकेको वायु गुणस्तर र धुवाँसम्बन्धी व्यवस्था पालना गर्नुपर्नेछ । उद्योगहरूले वायु प्रदूषण घटाउने उपकरणसमेत प्रयोग गर्नुपर्ने महानगरको भनाइ छ ।










