काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् । सरकारले प्रतिशोधपूर्ण ढंगले यस्तो कदम चाल्न खोजेको उनको दाबी छ ।

ADVERTISEMENT

उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई सम्भावित गैरकानुनी कदमविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

ADVERTISEMENT

राणाले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कानुनी प्रक्रिया मिचेर विभिन्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिइएको आरोपसमेत लगाए । आफूलाई मन नपरेका राजनीतिक नेता, व्यवसायी तथा कर्मचारीमाथि धरपकड गर्न प्रहरी नेतृत्वलाई प्रयोग गर्न खोजिएको उनको भनाइ छ ।

गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले आईजीपी कार्कीलाई पदबाट हटाएको राणाले दाबी गरेका छन् । सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजिनु लोकतान्त्रिक व्यवस्था र विधिको शासनका लागि गम्भीर विषय भएको उनले बताए ।

राणाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि राजनीतिक नेता, व्यवसायी र कर्मचारीमाथि धरपकड गरेको तथा सञ्चारमाध्यममाथि दबाब र हस्तक्षेप बढाएको आरोप पनि लगाए । सञ्चारगृहमा प्रहरी पठाएर सञ्चारकर्मीलाई पक्राउ गरिएको घटनाको विरोध गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने बताए ।

न्यायालयमाथि समेत प्रभाव पार्ने प्रयास भइरहेको आरोप लगाउँदै राणाले लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारको पक्षमा रहेका सबैलाई एकजुट हुन आग्रह गरे ।

‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं।’