काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक स्थानमा आइतबारदेखि धूम्रपान गरेको भेटिए पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

साउन ९ गतेदेखि एक महिनासम्म जनचेतनामूलक प्रचारप्रसार गरिने र भदौ १ गतेदेखि कारबाही प्रक्रिया सुरु हुने जनाएके थियो । सोहीअनुसार महानगरले शनिबारसम्म माइकिङ गरेर सार्वजनिक स्थानमा धूम्रपान नगर्न अनुरोध गरेको थियो । त्यसका लागि महानगरले नगर प्रहरी बल परिचालन गरेको थियो ।

ADVERTISEMENT

महानगर प्रहरी बलले पूर्वसूचनाबमोजिम भदौ १ गतेदेखि सार्वजनिक स्थानमा धूम्रपान गर्ने व्यक्तिहरुलाई पाँच सयका दरले जरिवाना कारवाही सुरू गरिएको जनाएको छ । सार्वजनिक स्थानमा धूम्रपान गरेको भेटिए पहिलोपटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। दोहोर्‍याएर नियम उल्लंघन गरेमा जरिवाना दोब्बर गरिने व्यवस्था गरिएको छ।

सुर्तीजन्य पदार्थ नियन्त्रण ऐनअनुसार सार्वजनिक स्थानमा धूम्रपान निषेध गरिएको हो। ती स्थानमा सरकारका कार्यालय, अस्पताल, विद्यालय, सार्वजनिक यातायात, विमानस्थल, बाल उद्यान, होटल, बार, सिनेमा हल, रेस्टुरेन्ट, धार्मिक स्थल, क्लब, रंगशाला, डिपार्टमेन्ट स्टोर, व्यायामशाला, सार्वजनिक शौचालयलगायत छन्।

ADVERTISEMENT

ऐनअनुसार निजी घर वा सवारीसाधनभित्र अरू व्यक्तिलाई असर पर्ने गरी धूम्रपान गर्न पाइँदैन। व्यवस्थापकले पर्यटकीय होटल वा विमानस्थलमा विशेष छुट्टिएको स्थानमा मात्र धूम्रपानको व्यवस्था गर्न सक्नेछन्। तर, त्यसका लागि सबैले देख्ने गरी सूचना पाटी टाँस्नुपर्नेछ।