काठमाडौं। काठमाडौं महानगरपालिकाले आजदेखि रात्रीकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। साझा यातायात सँगको सहकार्यमा साँझ ७ बजेदेखि पुल्चोकबाट सेवा सुरु गरिएको कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।
पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्र दुई प्रमुख मार्गमा विद्युतीय बस सञ्चालन गरिएको छ। लगनखेलदेखि बूढानीलकण्ठ र बूढानीलकण्ठदेखि लगनखेलसम्म एक मार्ग तय गरिएको छ भने अर्को मार्ग थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विमानस्थलदेखि थानकोटसम्म सञ्चालन हुने छ।
लगनखेल–बूढानीलकण्ठ मार्गमा पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल हुँदै गंगालाल हृदय केन्द्रसम्मका मुख्य स्थान समेटिएका छन्। यो उत्तर–दक्षिणतर्फ करिब १६ किलोमिटरको एकतर्फी दूरी रहेको महानगरले जनाएको छ।
त्यसैगरी थानकोट–विमानस्थल मार्ग सतुङ्गल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै सञ्चालन हुनेछ। यो पूर्व–पश्चिमतर्फ करिब २० किलोमिटरको एकतर्फी दूरी रहेको छ।
यी दुई मार्गमा चार वटा रात्रीकालीन विद्युतीय बस सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ। साँझदेखि राति ११ बजेसम्म सेवा सञ्चालन हुनेछ भने प्रत्येक २० मिनेटमा बस उपलब्ध हुनेछ।
रात्री समयमा सार्वजनिक यातायातको अभावले यात्रुहरू महँगो भाडा तिर्न बाध्य भएकाले यस सेवाले केही राहत दिने अपेक्षा गरिएको छ। सुरक्षाका लागि बसमा निगरानी क्यामेरा जडान गरिएको छ भने नगरप्रहरीसमेत परिचालन गरिने जनाइएको छ।








