काठमाडौं। काठमाडौँ महानगरपालिकाभित्र दर्ता भएका सहकारी संस्थामध्ये एक हजार १८६ वटा सहकारी सम्पर्कविहीन रहेको पाइएको छ। महानगरको सहकारी विभागका अनुसार दर्ता भएका सहकारीमध्ये केवल ७२६ वटा संस्थाले मात्र नियमित रूपमा सम्पर्कमा रही वार्षिक प्रतिवेदन बुझाउने गरेका छन्।

महानगर सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार सम्पर्कमा नरहेका सहकारी संस्थाविरुद्ध कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। सहकारीको अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउन वडा महिला सञ्जाललाई समेत जिम्मेवारी दिइएको उनले बताए।

ADVERTISEMENT

महानगरले सहकारीमा देखिएका समस्या समाधान, बचतकर्ताको रकम फिर्ता, ऋण असुली तथा सुशासन कायम गर्न वडा महिला सञ्जालमार्फत सहजीकरण गर्ने व्यवस्था गरेको छ। यसका लागि महिला सञ्जालका प्रतिनिधि, सहकारीका पदाधिकारी, ऋणी तथा बचतकर्तालाई छलफल र मेलमिलाप प्रक्रियामा सहभागी गराइनेछ।

बचतकर्ताले आफ्नो बचत रकम फिर्ता नपाएको अवस्थामा सम्बन्धित सहकारीविरुद्ध एकल वा संयुक्त निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। महानगरले सहकारी संस्था वा ऋणीलाई अनलाइन तथा पत्राचारमार्फत सम्पर्कमा ल्याउने प्रयास गर्ने जनाएको छ। मेलमिलाप प्रक्रियाका लागि संस्थाको नाम, ठेगाना, दाबी गरिएको रकम, सम्पर्क विवरण तथा तमसुकलगायतका कागजात संकलन गरिनेछ।

महानगरको विश्वास छ कि यस प्रक्रियाले बचतकर्ताको समस्या समाधान गर्नुका साथै ऋण नतिर्ने ऋणीबाट ऋण असुली गर्न पनि सहयोग पुग्नेछ।

वडाबाट सूचना जारी गरिसक्दा पनि ऋणी सम्पर्कमा नआए वा ऋण तिर्न बेवास्ता गरेमा त्यस्ता व्यक्तिलाई उपलब्ध हुने सार्वजनिक आधारभूत सेवामा प्रतिबन्ध लगाउने विषयमा वडाध्यक्ष र सहकारी विभागलाई सुझाव दिइने व्यवस्था समेत गरिएको छ।

सहकारी विभागले वडाभित्र रहेका सहकारी संस्थाको वित्तीय अवस्था, बचत फिर्ता, ऋण असुली, सदस्य हित, सुशासन, पारदर्शिता तथा उत्तरदायित्वसम्बन्धी विषयको निगरानी र समन्वय गर्ने जनाएको छ।