काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारीलाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ।
विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य कर्मचारी गरी ८३ वटा विद्यालयका ३६ हजार २८० जनालाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा समावेश गरेको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।
गत माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम सुरु गरेका थिए। त्यसपछि विद्यालय परिवारलाई क्रमशः प्रणालीमा आबद्ध गरिएको हो।
डाटा इन्ट्री, अद्यावधिक र प्रतिवेदन तयार गर्ने क्षमता विकास गरिएपछि विद्यालयकै जनशक्तिबाट प्रणालीमा तथ्याङ्क प्रविष्ट गरिएको छ। कक्षा १० सम्मका शिक्षक, कर्मचारी र विद्यार्थी गरी करिब ४५ हजार संख्या रहेको विभागका प्रमुख ढकालले बताए।
विभागले २०८२ चैत १ गतेदेखि विद्यालयहरूमा पठाइने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आबद्ध तथ्याङ्क र अभिलेखका आधारमा पठाउने निर्णय गरेको छ।
फागुन १३ र १४ गते सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग आयोजित बैठकमा प्रमुख ढकालले प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन नगरे अनुदान रकम निकासा गर्न नसकिने उल्लेख गर्दै बाँकी इ–हाजिरीको काम छिटो सम्पन्न गर्न आग्रह गरे।
विद्यालयहरूको भौतिक पूर्वाधार विकासका लागि पूर्वाधार सर्वेक्षणको काम भइरहेको छ। चालु आर्थिक वर्षमा यसका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ। पहिलो चरणमा चार वटा, दोस्रो चरणमा ११ वटा विद्यालयको पूर्वाधार गुरुयोजना तयार भइसकेको छ भने तेस्रो चरणमा २३ वटा विद्यालयको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम जारी रहेको विभागले जनाएको छ।
विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) लक्षित गर्दै पहिलो चरणमा छ वटा र दोस्रो चरणमा पाँच वटा गरी ११ विद्यालयमा विषय विज्ञ तथा स्रोत शिक्षकबाट विशेष तयारी कक्षा सञ्चालन गरिएको छ। अन्य विद्यालयले लिखित माग गरेमा विभागले विशेष कक्षा सञ्चालनको व्यवस्था गर्ने जनाएको छ।
विभागले २०८२ चैत मसान्तसम्म दरबन्दी मिलान सम्पन्न गरी नयाँ शैक्षिक सत्र २०८३ वैशाखदेखि दरबन्दीअनुसार शिक्षक व्यवस्थापन गर्ने तयारी गरेको छ।





