काठमाडौं । यस वर्षको तिहारका पाँचै दिन देशका अधिकांश ठाउँमा मौसम घमाइलो रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काग तिहारदेखि भाइटीकासम्म तराईका अधिकांश स्थानमा मौसम सफा रहनेछ । हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा भने आंशिक बदली हुन सक्ने अनुमान छ ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि त्यसको प्रभाव ठूलो नहुने महाशाखाले जनाएको छ ।
तिहार अवधिमा बिहानको समयमा तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना छ । दिउँसो भने अधिकांश ठाउँमा घाम लाग्ने अनुमान गरिएको छ ।
समग्रमा तिहारका पाँच दिन देशभर ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिने भएकाले पर्व मनाउन मौसम अनुकूल रहने मौसमविद्हरूको भनाइ छ ।
यसैबीच, आज बिहीबार पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ । हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदलीसँगै हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।












