काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक आज बस्दैछ । दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारका पछिल्ला गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने भएको छ ।
बैठकमा सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदमुक्त गरी एआईजी मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिएको निर्णयबारे पनि छलफल हुने बताइएको छ । उक्त निर्णयलगायत विषयमा पार्टीको आधिकारिक धारणा तय गर्ने कांग्रेसको तयारी छ ।
त्यस्तै, सरकारले पत्रकारहरूको पक्राउ तथा सञ्चारमाध्यममा गरेको धरपकडका विषयले पनि बैठकमा प्राथमिकता पाउने देखिएको छ ।
कांग्रेसले यसअघि नै यी घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरिसकेको छ । साथै, यस विषयमा छलफल गर्न तत्काल प्रतिनिधिसभाको बैठक बोलाउनसमेत माग गरेको छ ।
सरकारका पछिल्ला निर्णयप्रति प्रमुख प्रतिपक्षी दलका रूपमा पार्टीले कस्तो राजनीतिक तथा संसदीय रणनीति अपनाउने भन्ने विषयमा आजको बैठक महत्त्वपूर्ण हुने देखिएको छ ।










