काठमाडौं । नेपाली कांग्रेसले वैशाख २ गते कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने तय गरिएको छ।बैठकमा वैशाख ४ गते हुने संसदीय दलको नेता चयन प्रक्रियाबारे विस्तृत छलफल हुने जनाइएको छ। संसदीय दलको नेताका लागि अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य र जनकराज गिरीलगायत आकांक्षी देखिएका छन्।
यसैबीच पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवाज पनि उठ्न थालेको छ। सोही सन्दर्भमा निस्कल राईको नाम पनि अगाडि सारिएको छ। शीर्ष नेताहरू भने सहमतिमै नेता चयन गर्ने प्रयासमा रहेका बताइएको छ।
बैठकमा क्रियाशील सदस्यता अद्यावधिक तथा ‘जरामा जाऔं अभियान’ सम्बन्धी कार्यक्रमबारे पनि छलफल हुने जनाइएको छ। नेपाली कांग्रेसले नयाँ वर्षको सुरुवातसँगै देशभर सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
साथै, ‘जरामा जाऔं अभियान’ अन्तर्गत भोलिदेखि देशभर नेताहरूलाई खटाएर संगठन सुदृढीकरणमा जोड दिने कार्यक्रम अघि बढाइएको पार्टीले जनाएको छ।








