काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनता र पार्टीबीचको सम्बन्ध बलियो बनाउन मंसिर महिनाभर देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको शपथ ग्रहणपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशसहित अभियान सञ्चालन गरिने बताएका हुन्।

ADVERTISEMENT

उनले छिट्टै पार्टीको पूर्ण बैठक बसेर सबैको धारणा सुन्ने र त्यसका आधारमा आगामी चार वर्षको कार्यतालिका तयार गरिने जानकारी दिए। पार्टीका गतिविधि व्यवस्थित र अनुशासित रूपमा अघि बढाइने उनको भनाइ थियो।

ADVERTISEMENT

सभापति थापाले प्रतिपक्षको प्रमुख जिम्मेवारी सरकारका कामकारबाहीमाथि निगरानी गर्नु रहेको उल्लेख गर्दै कानुनी शासनको उल्लङ्घनविरुद्ध कांग्रेस सशक्त रूपमा उभिने बताए।

त्यस्तै, तिहार र छठलगत्तै लिडरसिप एकेडेमी, इलेक्सन ब्युरो र गभर्नेन्स इन्स्टिच्युटले काम सुरु गर्ने उनले जानकारी दिए। नेता तथा कार्यकर्ताको रुचि र क्षमताअनुसार कार्यविभाजन गरिने र सहमहामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनासहित जिम्मेवारी दिइने उनको भनाइ थियो।

थापाले परम्परागत शैलीमा हलभित्र सोफामा बसेर ताली बजाउने औपचारिक शुभकामना आदानप्रदानका कार्यक्रम नगर्ने घोषणा पनि गरेका छन्। सरसफाइ, विपन्नलाई सहयोग तथा समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रम आयोजना भएमा मात्र सहभागी हुन उनले निर्देशन दिएका छन्।