काठमाडौं।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामालाई अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिने बताएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने तय भएको छ।

बैठकको पूर्वसन्ध्यामा बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै उपसभापति शर्माले सभापति थापाको राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले राजीनामा दिनु नैतिक जिम्मेवारीको संकेत भए पनि वर्तमान परिस्थितिमा त्यसलाई स्वीकार गर्नु उपयुक्त नहुने बताएका छन्।

ADVERTISEMENT

शर्माले लेखेका छन्, “नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक कुरा हो। तर यतिबेलाको प्रधान नैतिक दायित्व भनेको उत्पन्न परिस्थिति सम्हाल्नु हो।” उनले बैठकमा प्रारम्भिक समीक्षा, सभापतिको राजीनामा पत्रमाथि छलफल र उक्त राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरिने जानकारी दिएका छन्।

ADVERTISEMENT

उनले आगलागी नियन्त्रण गर्न खटिएका व्यक्तिलाई नै दोषी ठहर गर्नु न्यायसंगत नहुने तर्क पनि प्रस्तुत गरेका छन्। “डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायोचित हुँदैन,” भन्दै उनले नेतृत्वमाथि आएको दबाब र आलोचनाबीच सन्तुलित दृष्टिकोण आवश्यक रहेको उल्लेख गरेका छन्।

कांग्रेसभित्र पछिल्लो समय विकसित घटनाक्रम र नेतृत्वको भूमिकाबारे चर्को बहस चलिरहेका बेला सभापति थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको सन्दर्भमा केन्द्रीय समिति बैठकलाई निर्णायक रूपमा हेरिएको छ। बैठकले पार्टीको आगामी रणनीति, नेतृत्वको निरन्तरता तथा आन्तरिक एकताबारे स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।

ADVERTISEMENT