काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुन र चाँदीका सिक्का बिक्री सुरु गर्दैछ । तिहारमा धनतेरस तथा लक्ष्मीपूजाका अवसरमा सुनचाँदीका सिक्का किन्ने परम्परालाई ध्यानमा राखेर बैंकले विशेष बिक्री व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री हुनेछ । राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आज र भोलि दुई दिनसम्म खरिद–बिक्रीको व्यवस्था गरिएको छ ।

ADVERTISEMENT

यस वर्ष राष्ट्र बैंकले सुनको असर्फीसँगै चाँदीका विभिन्न सिक्का पनि बिक्री गर्नेछ । चाँदीतर्फ लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप भएका सिक्का उपलब्ध हुनेछन् ।

ADVERTISEMENT

गत वर्ष सुनको अभावका कारण चाँदीका सिक्का मात्रै बिक्री गरेको राष्ट्र बैंकले यस वर्ष वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी असर्फी उत्पादन गरेको छ ।

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका तीन वटासम्म चाँदीका सिक्का खरिद गर्न पाउनेछन् ।

सुन र चाँदीको सिक्काको मूल्य बिक्री हुने दिनको बजार मूल्यका आधारमा निर्धारण हुनेछ । सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले बजारमा पाइने सुनचाँदीभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ ।

सिक्का खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।