काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने भएका छन्। उनले नाम फिर्ता लिनेबारे संसदीय सुनुवाइ समितिलाई जानकारी गराएको समिति सभापति बोधनारायण श्रेष्ठले बताएका छन्।

सभापति श्रेष्ठका अनुसार थापा अहिले सिंहदरबारमै छन् र केहीबेरमा नाम फिर्ता लिने निवेदन पठाउनेछन्। उनले समितिमा उपस्थित नहुने तर निवेदन भने पठाउने जानकारी गराएको श्रेष्ठले बताए।

ADVERTISEMENT

थापाले स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेपछि नाम फिर्ता लिन लागेको सभापति श्रेष्ठको भनाइ छ। ‘कानुनी रूपमा समस्या थिएन। स्वार्थको द्वन्द्वको कुरा आएकोले यो देशको कुरा पनि भएकोले नाम फिर्ता लिन्छु भन्नुभयो,’ श्रेष्ठले भने।

ADVERTISEMENT

गत असोज २८ गते प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भएको थियो। नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम मात्रै समितिले अनुमोदन गरेको थियो। साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने अनुमोदन भएको थिएन।

जापानका लागि प्रस्तावित थापाको जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि उनको सुनुवाइ थप अध्ययनका लागि स्थगित गरिएको थियो।

सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, संविधानको धारा २९१ र पीआर त्यागेको अवधिलाई लिएर सांसदहरूले थप प्रश्न उठाएका थिए।