काठमाडौं । परराष्ट्र मन्त्रालय ले विभिन्न देशका लागि राजदूत नियुक्ति गर्न खुला आवेदन आह्वान गरेको छ । मन्त्रालयले ‘ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपाल’ जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो ।

मन्त्रालयका अनुसार राजदूत पदका लागि आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गतेसम्म तोकिएको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा “विभिन्न देशहरूमा नेपालको राजदूत पदमा नियुक्तिका लागि दक्ष र योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको” उल्लेख गरिएको छ ।
नेपालको इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिको प्रक्रिया अघि बढाइएको हो । परराष्ट्र मन्त्रालयले चीन, अमेरिका, भारतलगायत १३ देशका लागि राजदूत नियुक्ति गर्न आवेदन खुलाएको जनाएको छ ।

ADVERTISEMENT

मन्त्रालयले राजदूत पदका लागि १५ वटा न्यूनतम योग्यता निर्धारण गरेको छ । आवेदन दिने व्यक्ति कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्नेछ । साथै नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारी सेवाबाट बर्खास्त गरिएको वा भविष्यमा सरकारी सेवाका लागि अयोग्य घोषित व्यक्ति आवेदन दिन अयोग्य हुने जनाइएको छ । त्यस्तै, कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी बसोबास अनुमति तथा अध्यागमन सुविधा लिएका व्यक्तिले पनि आवेदन दिन नपाउने व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार भ्रष्टाचार वा नैतिक पतनसँग सम्बन्धित कसुरमा अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई आवेदन दिन रोक लगाइएको छ । साथै नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा द्विपक्षीय वा बहुपक्षीय कूटनीतिमा अनुभव भएको र नेपालको प्रतिनिधित्व गर्न सक्षम व्यक्तिलाई प्राथमिकता दिइने उल्लेख छ ।

आवेदकमा अंग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्नेछ भने सम्बन्धित देशको आधिकारिक भाषाको ज्ञान भए थप योग्य मानिनेछ ।
त्यस्तै, प्रस्तावित देशमा कुनै प्रकारको स्वार्थको द्वन्द्व वा निहित स्वार्थ हुन नहुने तथा अन्तर्राष्ट्रिय वा विदेशी सहयोग प्राप्त गैर–सरकारी संस्थामा हाल कार्यरत व्यक्ति आवेदनका लागि अयोग्य हुने जनाइएको छ ।

मन्त्रालयले उच्च नैतिक चरित्र, कठिन परिस्थितिमा काम गर्न सक्ने क्षमता तथा कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय कालोसूचीमा नरहेको व्यक्तिलाई मात्र आवेदन दिन आग्रह गरेको छ ।

यसअघि विदेशी राज्यबाट तलब पाउने पदमा कार्यरत व्यक्ति भए कम्तीमा १० वर्षअघि उक्त जिम्मेवारी छोडेको हुनुपर्ने प्रावधान पनि राखिएको छ । साथै कूटनीतिक तथा कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि र अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासबारे ज्ञान भएको हुनुपर्ने उल्लेख गरिएको छ ।