काठमाडौं । रासिद खान र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

सोमबारको पहिलो खेलमा कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमान्डु गोर्खाजले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डुले पहिलो जितपछि दुई खेलबाट २ अंक जोडेको छ । कर्णालीको भने लगातार दुई जितपछि यो पहिलो हार हो ।

ADVERTISEMENT

काठमान्डुका लागि रासिद खानले अर्धशतक प्रहार गरे । उनले ३४ बल खेल्दै ३ चौका र २ छक्काको मदतमा सर्वाधिक ५० रन बनाए । यस्तै कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनको योगदान गरे ।

ADVERTISEMENT

रासिद खानले आदिल आलम र कप्तान करण केसीसँग दुई अर्धशतकिय साझेदारी गर्दै काठमान्डुको जितको आधार तयार पारेका थिए ।अष्ट्रेलियन चर्चित खेलाडी डेभिड वार्नरले नेपाल आएको भोलीपल्टै काठमान्डुका लागि ओपनिङ रग्दै एनपीएलमा डेब्यु गरेका थिए ।

१० बल खेल्दै ३ चौका मदतमा १६ रन बनाएका वार्नरलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरे । अर्का ओपनर स्मित पटेल पनि ९ रनमै आउट हुँदा काठमान्डुले २८ रनमा २ विकेट गुमाएको थियो । तर तेस्रो विकेटका लागि रासिद खान र आदिल आमलले ५४ रनको साझेदारी गरे ।

सुस्त ब्याटिङ गरेका आदिलले २७ बल खेल्दै १ छक्का प्रहार गरी २० रन जोडे । आदिल आउट भएपछि आएका भिम शार्की ४ रन  बनाएर आउट भए । एक छेउ सम्हालेका रासदि खानले कप्तान करण केसीसँग अर्को अर्धशतकिय साझेदारी गरे । रासिद र करणले २६ बलमै ५५ रनको साझेदारी गरेका थिए ।

१७औं ओभरमा रासिद खान अर्धशतक बनाए लगत्तै आउट भए । तर १८औं ओभरमा कप्तान करण र जहानदान खानले १५ रन जोड्दै जितको सम्भावना कायम राखेका थिए । उक्त ओभरमा करण आउट भएपछि काठमान्डुलाई जितका लागि १२ बलमा २१ रन आवश्यक थियो । तर १९औं ओभरमा जहानदान खानले पवन सर्राफलाई लगातार २ छक्का प्रहार गरे । उक्त ओभरमा काठमान्डुले १७ रन जोडेपछि जितका लागि अन्तिम ओभरमा ४ रन मात्र आवश्यक भयो ।

२०औं ओभरमा नन्दनले पहिलो बल डट राखेपनि जहानदान खान र सन्तोष यादवले लगातार सिंगल लिए भने चौथो बलमा जहानदानले २ रन जोड्दै जित निश्चित गरे । जहानदानले १० बल खेल्दै १ चौका र २ छक्का मदतमा अविजित २२ रन योगदान गरे ।

बलिङमा कर्णालीका लागि कप्तान सोमपाल कामी र हुसेत तलतले २–२ विकेट लिए । मार्क वाट र नन्दन यादवले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे । यस्तै हुसेन तललते ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन जोडे ।

पवन सर्राफले २३ बलमा २ छक्का मदतमा अविजित ३० रन जोडे । गुल्सन झाले १२ बलका २ छक्का प्रहार गर्दै २० रनको योगदान गरे ।

कर्णालीका लागि अरिफुल इस्लामसँग बंगलादेशमा अर्का खेलाडी जिशान आलमले ओपनिङ गरेका थिए । आइतबार मात्रै नेपाल आइपुगेका जिशानले पहिलो खेल खेलेका हुन् । टिमको स्कोर २औ रन हुँदा उनी व्यक्तिगत ७ रनमा आउट भए ।

दोस्रो विकेटका लागि अरिफुल इस्लाम र मार्क वाटले ४६ रनको साझेदारी गरेका थिए ।

१२ रन अन्तरमा अरिफुल, दिपक डुम्रे र मार्क वाट आउट हुँदा कर्णाली ७८–४ को अवस्थामा पुगेको थियो । तर पवन सर्राफ र हुसेन तलतले पाँचौ विकेटका अर्धशतकिय साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाले । १७औं ओभरको अन्तिम बलमा तलत हिट विकेट हुनुअघि सर्राफसँग ६५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । त्यसपछि पवन र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गरे ।

बलिङमा काठमान्डुका लागि कप्तान करण केसीले २ तथा शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले १–१ विकेट लिए ।