सुर्खेत । कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २९ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ३० दिने काउन्टडाउन सुरु भएको छ।

प्रतियोगिता सुरु हुन एक महिना बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सोमबारदेखि औपचारिक रूपमा काउन्टडाउन सुरु गरेको हो।

ADVERTISEMENT

काउन्टडाउन कार्यक्रमको सुरुवात गर्दै कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रतियोगिता आयोजना गर्ने क्रममा विभिन्न चुनौती रहे पनि तिनको सामना गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिने बताए।

ADVERTISEMENT

कार्यक्रममा संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिताका लागि भइरहेको तयारी निर्धारित समयभित्रै पूरा गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले प्रतियोगिता आयोजनाका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिए। उनका अनुसार खरिद प्रक्रिया र अन्य व्यवस्थापकीय काम भइरहेको छ। बाँकी काम पनि प्रतियोगिता सुरु हुनुअघि नै सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको छ।

काउन्टडाउन सुरु भएसँगै आयोजक पक्षमाथि प्रतियोगिताको तयारी समयमै पूरा गर्न दबाब बढेको छ। अबको एक महिनाभित्र खेलस्थल व्यवस्थापन, खेल सामग्री खरिद, खेलाडीको तयारी, आवास, यातायात, सुरक्षा तथा अन्य व्यवस्थापकीय काम टुंग्याउनुपर्नेछ।