काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि प्रस्ताव गरेका राजदूतविरुद्ध परेका उजुरी आज (असोज २० गते) खोलिँदै छन्। यसका लागि बिहान सवा ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।
सिंहदरबारमा बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी खोल्नुका साथै उनीहरूले पेस गरेका कार्ययोजना समिति सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
समितिका सचिव तुलबहादुर कँडेलका अनुसार प्रस्तावित राजदूतविरुद्ध जम्मा ७ वटा उजुरी परेका छन्। एउटै व्यक्तिविरुद्ध दुईवटा उजुरीसमेत परेको उनले जानकारी दिए।
मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरेको थियो।
यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ।
समितिले यसअघि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको थियो। संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।







