काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।प्रहरी स्रोतका अनुसार एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले आइतबार बिहान ओली निवासमा प्रवेश गरी उनलाई पक्राउ गरेको हो।
पक्राउको पुष्टि गर्दै एक अधिकृतले बताए, “हामीले पूर्वप्रधानमन्त्री ओलीलाई नियन्त्रणमा लिएका छौं।”यसैबीच, तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि प्रहरीले भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको छ। उनलाई प्रहरी परिसर भद्रकाली ल्याइँदै गरिएको जनाइएको छ।
प्रहरीले भदौ २३ गते भएको “जेनजी आन्दोलन” का क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्नताको आरोपमा ओली र लेखकलाई पक्राउ गरेको जनाएको छ। जाँचबुझ आयोगको प्रतिवेदनमा उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत “हेलचेक्र्याइँ गरी ज्यान मार्ने” कसुरमा अनुसन्धान सिफारिस गरिएको थियो। उक्त कानुनी व्यवस्थाअनुसार दोषी ठहर भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनका आधारमा नयाँ सरकारले कारबाही प्रक्रिया अघि बढाएको हो। नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
त्यसपछि गृहमन्त्री सुदन गुरुङ ले सुरक्षा निकायलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए। कानुनी प्रक्रिया पूरा गर्न कानुन सचिव पाराश्वर ढुंगाना समेत रातभर खटिएको स्रोतले जनाएको छ।
कानुनी प्रक्रिया
प्रहरीले प्रारम्भिक रूपमा “जरुरी पक्राउ पूर्जी” का आधारमा ओलीलाई नियन्त्रणमा लिएको बताइएको छ। अब उनलाई २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ। पक्राउपछि स्वास्थ्य परीक्षण गरेर हिरासतमा राख्ने प्रक्रिया अघि बढाइने छ। महान्यायाधीवक्ता कार्यालय स्रोतका अनुसार मृतक र घाइतेका परिवारले दिएको जाहेरीलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको हो।
ऐतिहासिक घटना
नेपालको राजनीतिक इतिहासमा कुनै पूर्वप्रधानमन्त्रीलाई ज्यानसम्बन्धी फौजदारी मुद्दामा पक्राउ गरिएको यो पहिलो घटना मानिएको छ। यसअघि राजनीतिक आन्दोलनका क्रममा केही नेताहरू पक्राउ परे पनि यस्तो प्रकृतिको आपराधिक अनुसन्धानमा पूर्वकार्यकारी प्रमुख पक्राउ परेको उदाहरण थिएन।







