काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले भाग्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार उनले प्रयोग गर्दै आएको मोबाइल फोन स्विच अफ गरेर फरार हुने प्रयास गरेका थिए।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रमा सवारी चेकजाँचका क्रममा सोमबार राति करिब ८ बजे उनलाई नियन्त्रणमा लिएको हो।
सीआईबीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ। यो प्रकरण स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलामीसँग जोडिएको छ। स्मार्ट टेलिकमले दूरसञ्चार सेवाको अनुमतिपत्र नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि कम्पनीको लाइसेन्स स्वतः खारेज भएको थियो। त्यसपछि कम्पनीका सम्पूर्ण दूरसञ्चार पूर्वाधार, संरचना र नेटवर्क नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गएका थिए।
अनुसन्धानका क्रममा लिलामी प्रक्रियामा संलग्न पक्षहरूले नेपाल सरकारको सम्पत्तिमा हानि पुग्ने गरी कार्य गरेको आशंकामा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। पाण्डे लोन रिकभरी कमिटी (एलआरसी) का अध्यक्षसमेत रहेका थिए।
प्रहरीका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२ असोज ३ गते प्रकाशित गरेको लिलामी सूचनामा घरबहाल र विद्युत् महसुलबापत करिब ४० करोड रुपैयाँ थप गरेर बोलपत्र पेश गर्नुपर्ने व्यवस्था उल्लेख गरेको थियो। तर उक्त रकम सम्बन्धित घरधनी तथा निकायलाई भुक्तानी नगरिएको आरोप पनि अनुसन्धानको दायरामा रहेको छ।
सीआईबीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसूरमा थप अनुसन्धान भइरहेको जनाएको छ।
बैंकका प्रमुख सूचना अधिकारी राजेश शर्मासँग सीईओ ज्योति प्रकाश पाण्डे बैंकको कामको सिलसिलामा काठमाडौँ बाहिर जादै थिए वा उनि साच्चै भाग्दै थिए भन्ने प्रश्नको जवाफमा अहिले आफु संग कुनै पुष्ट जानकारी नभएको बताएका छन्।
नेपालको बैंकिंग इतिहासमा कुनै पनि ‘क’ वर्गको बैंकको प्रमुख कार्यकारी अधिकृतलाई भाग्दै गरेको अवस्थामा सुरक्षा निकायले पक्राउ गरेको यो पहिलो घटना बन्न पुगेको छ। उनि भाग्नुले यो प्रकरण झनै रहस्यमयी बनेको छ।








