काठमाडौं । शुक्रबार दिनभर परेको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ । मौसमविद्ले शनिबार साँझसम्म पनि हल्का वर्षा जारी रहने पूर्वानुमान गरेका छन् । शनिबार पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । मौसमविद्हरुका अनुसार शनिबार साँझसम्म नै सिमसिम पानी परिरहने सम्भावना छ । बिहीबारको खेलमा मौसमले साथ दिए पनि शनिबार खेल सञ्चालन हुने सम्भावना कम  छ ।काठमाडौंमा बिहीबार अबेर रातिदेखि वर्षा भइरहेको छ । शुक्रबार दिनभर पनि वर्षा नरोकिएपछि त्रिवि क्रिकेट मैदानको अवस्था प्रभावित भएको छ । बिहीबार विराटनगर किङ्स र कर्णाली याक्सबीचको दोस्रो खेल भने सिमसिम पानी परिरहेकै अवस्थामा सम्पन्न भएको थियो । खेल सकिएलगत्तै वर्षा सुरु भएपछि मैदानलाई कभरले ढाकिएको थियो । एनपीएलमा कुनै पनि खेलका लागि रिजर्भ डे राखिएको छैन । त्यसैले शनिबार वर्षाका कारण खेल सञ्चालन हुन नसके दुवै खेलको नतिजा प्रभावित हुनेछ । खेल रद्द वा नतिजाविहीन भएमा सम्बन्धित टोलीले एक–एक अंक बाँड्नेछन् ।

 

ADVERTISEMENT