काठमाडौं । केन्द्रीय कारागारबाट फरार भएकी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आइतबार राति काठमाडौंको असनस्थित बांगेमुढाबाट पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फरार तामाङलाई पक्राउ गरेको जनाएको छ। उनलाई भगाउन सहयोग गरेको आरोपमा भोजपुर घर भएका २६ वर्षीय साजन श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका श्रेष्ठको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ।
अपहरण, हत्या र डकैती मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएकी २५ वर्षीया तामाङ शुक्रबार केन्द्रीय कारागारको पर्खाल नाघेर फरार भएकी थिइन्। उनी फरार भएको करिब १२ घण्टापछि मात्रै जेल प्रशासनले थाहा पाएको थियो।
घटनापछि कारागार प्रशासनले जेलब्रेकबारे छानबिन गर्न समिति गठन गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार साजन श्रेष्ठ र सपना तामाङबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। श्रेष्ठकी आमा उदयपुर कारागारमा रहेकी छन् भने यसअघि उनकी आमा केन्द्रीय कारागारमा रहेका बेला भेटघाटका क्रममा सपना र साजनबीच चिनजान भएको बताइएको छ।
त्यही चिनजान पछि प्रेम सम्बन्धमा परिणत भएको र सोही योजनाअनुसार कारागारबाट भाग्ने योजना बनाइएको प्रहरी स्रोतको दाबी छ।
प्रहरीका अनुसार तामाङ कारागारको पर्खालबाट निस्किएपछि श्रेष्ठले मोटरसाइकलमा राखेर उनलाई घटनास्थलबाट भगाएका थिए।
Related Post





