भोजपुर । निरन्तरको भारी वर्षाका कारण संखुवासभामा आयोजना हुन लागेको पहिलो संस्करणको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता दुई दिनपछि सरेको छ ।शनिबारदेखि सुरु हुने तय भएको प्रतियोगिता खेलमैदान हिलाम्मे भएपछि आयोजकले स्थगित गरी नयाँ मिति तय गरेको हो । अब प्रतियोगिता कात्तिक १६ देखि २० गतेसम्म खाँदबारीको मानेभञ्ज्याङमा सञ्चालन हुने आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लबका अध्यक्ष प्रकाश घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा आयोजक एड्भान्ससहित सुनसरीको न्यु स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहोरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा–११ फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लब सहभागी हुनेछन् ।
जिल्लामा फुटबलप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’ले पाँच हजार रुपैयाँ पाउनेछन् भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।









