काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतको रिहाइको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। अखिल नेपाल महिला संघ भक्तपुरको अगुवाइमा गरिएको प्रदर्शनमा पक्राउ परेका बस्नेतसहितका व्यक्तिमाथि लगाइएको मुद्दा फिर्ता लिन माग गरिएको छ।

घटनाको पृष्ठभूमिमा माइतीघरमा धर्ना दिँदै आएकी शोभा पाठकमाथि भएको हातपात रहेको छ। उक्त घटनापछि प्रहरीले अम्बिका बस्नेतसहित १० जनालाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको थियो। अहिले उनीहरू प्रहरी हिरासतमा रहेका छन्।

बस्नेत पक्षले भने आफू र आफ्नो परिवारमाथि लामो समयदेखि चरित्र हत्या र मानसिक दबाब दिइएको आरोप लगाउँदै आएको छ। सोही कारणले प्रतिकारको अवस्था सिर्जना भएको उनीहरूको दाबी छ। उनीहरूले अदालतबाट टुङ्गिसकेको विषयलाई फेरि उचालेर अनावश्यक विवाद सिर्जना गरिएको पनि बताएका छन्।
उता, घाइते भएकी शोभा पाठकलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। पाठकले एमाले नेता महेश बस्नेतविरुद्ध गम्भीर आरोप लगाउँदै कारबाहीको माग गर्दै आएकी थिइन्। पछिल्लो समय उनी विवादपछि राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङको पुनर्बहालीको माग गर्दै माइतीघरमा धर्नामा बसेकी थिइन्।
सोही क्रममा विवाद चर्किँदै जाँदा हातपातको घटना भएको हो। घटनापछि माइतीघर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।








