काठमाडौं । प्रहरीले सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने प्रयास गरेको छ । नेपाल प्रेसबाट पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको केही घण्टामै प्रहरी नयाँ पत्रिका दैनिक र दियो पोस्ट अनलाइनको कार्यालयमा पनि पुगेको छ ।
नयाँ पत्रिकामा पत्रकार नवराज मैनालीलाई खोज्दै सादा पोशाकमा पाँच जना प्रहरी पुगेका छन् । उनीहरूले मैनालीलाई साइबर ब्युरोमा उपस्थित गराउनुपर्ने भन्दै कार्यालयमै बसेका छन् । एक पत्रकारका अनुसार प्रहरीले पक्राउ पुर्जीबिना नै मैनालीलाई नियन्त्रणमा लिन खोजेको छ ।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार आफूहरू अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको बताउने प्रहरी टोलीले मैनालीलाई आफूसँग जान आग्रह गरेको छ । तर, टोलीले पक्राउ पुर्जी भने नदेखाएको उनले बताएका छन् ।
यस्तै, प्रहरी दियो पोस्ट अनलाइनको कार्यालयमा पनि पुगेको थियो । दियो पोस्टका सम्पादक सुदीप विश्वकर्मालाई खोज्दै आएको प्रहरी उनलाई नभेटेपछि फर्किएको त्यहाँ कार्यरत पत्रकारले बताएका छन् ।
यसअघि शुक्रबार नै प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार सुवेदीलाई बानेश्वरस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो । समाचार कक्षमा काम गरिरहेका बेला सादा पोशाकमा तीन जना व्यक्ति प्रवेश गरी समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै उनलाई आफूसँग जान भनेका थिए ।
प्रहरी टोलीले आफूहरू अपराध अनुसन्धान कार्यालयबाट आएको र ‘आईजी साब’को आदेश रहेको बताएको एक पत्रकारले जानकारी दिएका छन् । सुवेदीले छलफलका लागि जानुपर्ने भए आफ्नै मोटरसाइकलमा जाने बताए पनि प्रहरीले उनलाई आफ्नै गाडीमा राखेर लगेको थियो ।
नेपाल प्रेसमा केही दिनअघि प्रकाशित प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र उनले यस विषयमा कानुनी परामर्श थालेको समाचारलाई लिएर सुवेदीलाई नियन्त्रणमा लिइएको बताइएको छ । प्रहरी स्रोतका अनुसार उक्त समाचारको स्रोत खोज्न साइबर ब्युरोको आग्रहमा अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई साइबर ब्युरोमा बुझाउने तयारी रहेको स्रोतको भनाइ छ ।
सुवेदी पक्राउ परेकै समयमा नेपाल प्रेसको प्रकाशन गृह नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साललाई पनि साइबर ब्युरोले फोन गरेर उपस्थित हुन आग्रह गरेको थियो । लम्सालका अनुसार ब्युरोबाट पटक–पटक फोन आएको थियो । समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै ब्युरोमा आउन भनिएको उनले बताएका छन् ।
यसरी एउटै समाचारसँग सम्बन्धित विषयमा एक पत्रकार पक्राउ परेका छन् भने अन्य दुई सञ्चारगृहमा प्रहरी पुगेको छ । एक सञ्चारगृहका सम्पादकलाई नभेटेपछि प्रहरी फर्किएको छ भने अर्को सञ्चारगृहमा पत्रकारलाई उपस्थित गराउन दबाब दिइएको छ । घटनाक्रमले सञ्चारमाध्यमको कार्यालयमा प्रहरीको उपस्थितिलाई लिएर प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी प्रश्न उठाएको छ ।









