काठमाडौं। कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलद्वारा सञ्चालित विद्यालयमा करोडौं रुपैयाँ आर्थिक हिनामिना भएको आरोपमा विद्यालयकी लेखा प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङ र उनका सहयोगी लीला लामालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार दुवैलाई पक्राउ गरी आइतबारबाट थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक छानबिनपछि आर्थिक अनियमितताको निष्कर्ष निकाल्दै कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेपछि उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ताका अनुसार पक्राउ परेका दुवैमाथि सरकारी रकम अपचलनसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार विद्यालयको खातामा रहनुपर्ने रकम पटक–पटक व्यक्तिगत खातामा स्थानान्तरण गरी हिनामिना गरिएको आशंका छ। अनुसन्धान स्रोतका अनुसार अपचलन गरिएको रकम करिब ११ करोड रुपैयाँ पुगेको हुन सक्ने अनुमान गरिएको छ।
सशस्त्र प्रहरी मुख्यालयले यस घटनाको छानबिनका लागि डिआइजी युवराज अर्यालको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले इन्स्पेक्टर गुरुङले गैरकानुनी रूपमा विद्यालयको रकम अपचलन गरेको निष्कर्ष निकालेपछि प्रहरीलाई मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको हो।
छानबिनका क्रममा गुरुङले करिब छ वर्षसम्म विद्यालयको लेखा शाखा सम्हालेको र यही अवधिमा आर्थिक अनियमितता भएको देखिएको छ। अनुसन्धानमा उनका निकटस्थ मानिएका लीला लामाको बैंक खातामा विद्यालयको रकम स्थानान्तरण गरिएको खुलेको छ। लामाको काठमाडौंको लाजिम्पाट क्षेत्रमा रेस्टुरेन्ट र ट्राभल व्यवसाय रहेको तथा सोही व्यवसायमा उक्त रकम प्रयोग गरिएको आशंका गरिएको छ। प्रारम्भिक बयानका क्रममा रकम व्यवसायमा लगानी गरिएको र पछि फिर्ता गर्ने योजना रहे पनि सम्भव नभएको स्वीकार गरिएको स्रोतको दाबी छ।
प्रहरीले यस घटनामा सरकारी रकम अपचलनसँगै आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर आकर्षित हुने सम्भावनासमेत अध्ययन गरिरहेको जनाएको छ।
अनुसन्धानको दायरा विस्तार गर्दै सशस्त्र प्रहरीका अन्य अधिकारीको भूमिकामाथि पनि छानबिन भइरहेको छ। विद्यालयका तत्कालीन कमान्डेन्ट दिग्विजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेसँग सम्बन्धित कागजात तथा निर्णय प्रक्रियासमेत परीक्षण भइरहेको स्रोतले जनाएको छ। यद्यपि, हालसम्म उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि भएको छैन।
यसैगरी सशस्त्र प्रहरीको कल्याण शाखामा कार्यरत कर्मचारीको भूमिकामाथि पनि अनुसन्धान भइरहेको छ। विद्यालयबाट कल्याण कोषमा जम्मा हुनुपर्ने रकम समयमै नपुगेको, कतिपय अवस्थामा रकम नै जम्मा नगरी भौचर मात्र पेश गरिएको तथा वर्षौंसम्म लेखापरीक्षणबाट समेत अनियमितता बाहिर नआएको विषय अनुसन्धानको केन्द्रमा रहेको छ।
घटनामा बैंकिङ प्रक्रियाको समेत दुरुपयोग भएको हुन सक्ने आशंकामा सम्बन्धित बैंकको भूमिकामाथि पनि अनुसन्धान अघि बढाइएको छ। विद्यालयको खाता रहेको बैंकबाट आवश्यक प्रक्रिया पूरा नगरी रकम निकालिएको वा स्थानान्तरण गरिएको हो कि भन्ने विषयमा प्रहरीले विवरण संकलन गरिरहेको छ।
प्रहरीका अनुसार आर्थिक कारोबार, बैंक विवरण, लेखा अभिलेख तथा सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा अनुसन्धान जारी रहेको छ। थप प्रमाणका आधारमा अन्य व्यक्तिमाथि पनि कानुनी कारबाही अघि बढ्न सक्ने जनाइएको छ।






