काठमाडौं। विदेश भ्रमणको आकर्षक अफर देखाएर सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेहरूमा सप्तरीको कञ्चनरूप नगरपालिका–१२ निवासी विवेक रेग्मी रहेका छन्। साथै, भारतीय नागरिकहरू हुसेन सैयद, साजिद ओमर सैयद, महम्मद इमरान, मिर खालिद हुसेन, रजाक महम्मद र समदा गिरी पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार उक्त समूहले हालसम्म ३ सय २८ जनाबाट करिब २ करोड ७२ लाख ६५ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार मुख्य अभियुक्त रेग्मीले गत कात्तिक १७ गते आफ्नै नाममा कम्पनी दर्ता गरी ‘सिर्तेल होलिडेज’ नामक कार्यालय सञ्चालन गरेका थिए।
उक्त कम्पनीले करिब ३० जना नेपाली कर्मचारी नियुक्त गरी नोभेम्बर १६ देखि औपचारिक रूपमा काम सुरु गरेको पाइएको छ। अनुसन्धानका क्रममा कम्पनीको मुख्य कार्यालय भारतको हैदराबादमा रहेको भन्दै ग्राहक तथा कर्मचारीलाई विश्वास दिलाउने गरिएको खुलासा भएको छ।
प्रहरीका अनुसार उनीहरूले काठमाडौंका भीडभाड हुने स्थानहरू जस्तै भाटभटेनी, लबिम मल, सिभिल मल लगायतमा स्टल राखेर सर्वसाधारणलाई ‘लट्री अफर’ को नाममा फारम भराउने गर्थे। त्यसपछि फारम भरेका व्यक्तिहरूलाई ‘लट्री परेको’ भन्दै फोन गरेर कार्यालयमा बोलाइन्थ्यो।
कार्यालय पुगेका व्यक्तिहरूलाई सीमित समयका लागि मात्र मान्य हुने भन्दै आकर्षक होलिडे प्याकेज प्रस्ताव गरिन्थ्यो। सोही दिन निर्णय लिन दबाब दिँदै रकम कम्पनीको खातामा ट्रान्सफर गर्न लगाइन्थ्यो।
तर, प्याकेज खरिद गरेका व्यक्तिहरूलाई सम्झौताअनुसार विदेश भ्रमण नगराइएको र पैसा फिर्ता माग्दा विभिन्न बहाना बनाएर टार्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, यस्ता प्रलोभनमा नपरी सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।







