काठमाडौं । कामना सेवा विकास बैंकले भूमिसुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माण गर्ने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले जेनजीको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट भएको भूमिसुधार तथा मालपोत कार्यालय, मोरङको कार्यालय मर्मत सम्भार गर्ने भएको हो ।
मालपोत कार्यालय विराटनगरका तर्फवाट मालपोत अधिकृत अजय राजवंशी र बैंकका तर्फवाट कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुषालले पुनःनिर्माणको लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । हाल कार्यालय जलेर नष्ट भएको विवरण संकलनको कार्य भइरहेको र विवरण संकलनपछि पुनःनिर्माणको काम सुरु हुने बैंकले जनाएको छ ।
साथै, आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, पथरीका उपकरणसहितका सम्पूर्ण सामग्री जलेर नष्ट भएको र कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा, तत्काल आवश्यक कम्प्युटर बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुषालले इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी तुलसीप्रसाद अर्याललाई हस्तान्तरण गरे । सो अवसरमा डिएसपी अर्यालले कार्यालय सञ्चालनमा गम्भीर चुनौती खडा भएको अवस्थामा बैंकले उपलब्ध गराएको कम्प्युटरले अत्यन्तै ठूलो सहयोग पुगेको भन्दै आभार प्रकट गरे ।
बैंकका प्रदेश प्रमुख भुषालले कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समुदायमुखी गतिविधि गर्दै आएको उल्लेख गर्दै, पथरीस्थित इलाका प्रहरी कार्यालयलाई सहयोग गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । हस्तान्तरण कार्यक्रममा प्रहरी अधिकृतहरू, बैंकका कर्मचारीहरूको उपस्थिति थियो । बैंकले अन्य स्थानका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरू पुनःनिर्माण तथा मर्मत सम्भार गर्नका लागि सहकार्य गर्नेसमेत जनाएको छ ।








