काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो कार्यशैली, प्रेस स्वतन्त्रता र राजनीतिक मर्यादामाथि प्रश्न उठाएका छन्।
बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सञ्चारमाध्यमलाई त्रासमा राख्ने र पत्रकारलाई हतोत्साहित गर्ने गतिविधि लोकतन्त्रका लागि स्वीकार्य नहुने बताए।
प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको अवस्था मापन गर्ने महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै उनले भने, ‘कुनै देशमा लोकतन्त्र छ कि छैन भन्ने कुरा प्रेस स्वतन्त्रता कति छ भन्नेमा निर्धारण हुन्छ। लोकतन्त्रमा मिडियालाई ह्यारेस गरियो भने त्यो लोकतन्त्र रहँदैन।’
उनले पत्रकारहरूसँग हातमा कालोपट्टी नदेखिएको विषय उठाउँदै प्रश्नसमेत गरे, ‘तपाईंहरूको हातमा किन कालोपट्टी छैन ?’
शर्माले सरकारले अहिले प्राथमिकता दिनुपर्ने विषय र गरिरहेको गतिविधिबीच तालमेल नरहेको टिप्पणी गरे। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर नयाँ आईजीपी नियुक्त गरिएको घटनालाई जोड्दै उनले प्रश्न गरे, ‘यो बेलामा सरकारले गर्नुपर्ने के थियो र के गर्दैछ ? आईजी हटाउने अहिलेको प्राथमिकता हो ?’
उनले सिंहदरबार र बालुवाटारमा भइरहेका गतिविधिले मतदाताले दिएको जनमतको सम्मान नभएको आरोपसमेत लगाए। सरकार पाँच वर्षसम्म चलोस् भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
यसैगरी, एक व्यक्तिको मोबाइल कब्जामा लिएपछि त्यसबाट प्राप्त सामग्री प्रधानमन्त्रीका सल्लाहकारसम्म कसरी पुग्यो भन्ने विषयमा पनि उनले प्रश्न उठाए।
‘एक जनाको मोबाइल कब्जा गरेपछि त्यो किन प्रधानमन्त्रीको सल्लाहकारकहाँ पुग्यो ? यो कुन मर्यादाअनुसारको हो ? प्रधानमन्त्री कार्यालय श्रम शिविर हो ?’ उनले भने।
अडियो प्रकरणबारे टिप्पणी गर्दै शर्माले सार्वजनिक भएका अडियोहरू कपोलकल्पित र नियोजित रहेको दाबी गरे। उक्त प्रकरणमा संलग्न पात्रहरू समयक्रमसँगै खुल्दै जाने उनको भनाइ थियो।
कांग्रेसको विशेष महाधिवेशनपछि त्यसबारे प्रश्न उठाउनु अदालत, निर्वाचन आयोग र महाधिवेशन प्रतिनिधिहरूको अपमान हुने तर्कसमेत उनले गरे।
शर्माले आफ्नो पार्टीको नेतृत्वमाथि उठेका प्रश्नसहित सबै विवादित घटनाको स्वतन्त्र, निष्पक्ष र कानुनसम्मत छानबिन हुनुपर्नेमा जोड दिएका छन्।










