काठमाडौँ । यस वर्षको मनसुन अवधिमा भोटेकोशी बाढीबाहेक देशभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २२७ जना घाइते भएका छन्। मनसुनजन्य विपद्बाट ३ हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

ADVERTISEMENT

प्राधिकरणका प्रवक्ता राम केसीका अनुसार यस वर्षको मनसुन ११८ दिनसम्म चलेको थियो। यस अवधिमा ७७ वटै जिल्ला कुनै न कुनै रूपमा प्रभावित भए भने मानवीय क्षतिका आधारमा ४५ जिल्ला बढी प्रभावित भएका थिए।

ADVERTISEMENT

गत वर्षको मनसुन अवधिमा विपद्का घटनामा परी १४० जनाको मृत्यु, ३० जना बेपत्ता र ३०० जना घाइते भएका थिए। गत वर्ष ५ हजार ९९५ परिवार प्रत्यक्ष प्रभावित भएका थिए।

यस वर्ष मनसुन अवधिका प्रमुख विपद्मा भोटेकोशी बाढी, असोज ७ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो तथा डुबान र गोरखाको बुढीगण्डकी बाढी रहेका छन्।

प्राधिकरणका अनुसार यस वर्ष समग्रमा औसत वर्षा भए पनि छोटो अवधिमा भएको अत्यधिक वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना भएका थिए।