काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बुटवल माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ।
बैंकको बुटवल शाखामार्फत आयोजित कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकालाई स्कुल ब्याग हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै आचार्यले प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै उक्त सहयोग प्रदान गरिएको बताए। उनले स्कुल ब्याग केवल शैक्षिक सामग्री बोक्ने साधन मात्र नभई विद्यार्थीमा विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र जिम्मेवारीबोध विकास गर्ने माध्यमसमेत भएको उल्लेख गरे।
विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझीले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको अध्ययनप्रतिको उत्साह बढाउनुका साथै अभिभावकलाई समेत राहत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
बैंकले आगामी दिनमा पनि विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






