काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शाखा कार्यालय गोंगबुमार्फत “हाम्रो बाल संरक्षण धरोहर नेपाल” मा रहेका अनाथ तथा असहाय बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एल.के.जी.देखि १० सम्म अध्ययनरत २८ जना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री संस्थाकी संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै संस्थापक अर्यालले बैंकले गरेको सहयोगले संस्थामा रहेका बालबालिकाहरूको शैक्षिक पहुँच विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्तो सहयोगले बालबालिकाहरूलाई अध्ययनप्रति थप प्रेरणा मिल्ने बताउनुभयो ।
यस अवसरमा बालबालिकाहरूले खुशी तथा उत्साह व्यक्त गर्दै बैंकप्रति आभार प्रकट गरेका थिए ।
कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।







