काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे निर्वाचन तयारीसम्बन्धी कार्ययोजना प्रस्ताव गरेको छ ।

पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित केन्द्रीय तहदेखि टोलसम्म संगठन परिचालन गर्ने योजना अघि सारिएको हो ।

ADVERTISEMENT

बुधबारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा महासचिव शंकर पोखरेलले पेस गरेको प्रस्तावित कार्ययोजनामा निर्वाचनमा पार्टीका उम्मेदवारको विजय सुनिश्चित गर्ने र जनविश्वास पुनःस्थापित गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

ADVERTISEMENT

कार्ययोजनाअनुसार स्थानीय निर्वाचनको मुख्य आधार मानिएका पालिका, वडा र टोल कमिटीको अवस्थाको समीक्षा गरी निष्क्रिय कमिटीलाई सक्रिय बनाइनेछ । वडा र पालिका अधिवेशनको तालिका सार्वजनिक गरी कार्यकर्ताको भावना अनुरूप योग्य र क्रियाशील नेतृत्व चयनका लागि सहजीकरण गरिने प्रस्ताव छ ।

त्यस्तै, प्रत्येक वडामा मतदाता सङ्ख्या, पार्टी सदस्य, समर्थक, शुभेच्छुक, जनसङ्गठन र स्थानीय मुद्दाहरूको अद्यावधिक अभिलेख तयार पारिनेछ । टोलस्तरमा सम्पर्क व्यक्ति तोकेर घरदैलो अभियानलाई तीव्र बनाउने योजना पनि समेटिएको छ ।

निर्वाचनमा सफलता हासिल गर्न प्रत्येक पालिका र वडा तहमा विगतका निर्वाचन परिणाम, मतान्तर, स्थानीय राजनीतिक समीकरण, गठबन्धनको सम्भावना र विपक्षी दलको अवस्थाबारे वस्तुगत अध्ययन तथा तथ्याङ्क सङ्कलन गरिनेछ । जनमत सर्वेक्षण तथा कार्यकर्ता र बौद्धिक क्षेत्रको राय–सुझावका आधारमा छुट्टाछुट्टै निर्वाचन रणनीति बनाइने प्रस्ताव गरिएको छ ।

उम्मेदवार छनोट गर्दा निष्ठा, जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारी र जनस्वीकार्यतालाई मुख्य मापदण्ड बनाउने एमालेको योजना छ । उम्मेदवार छनोटमा पहुँच र गुटगत प्रभावलाई निरुत्साहित गर्ने कार्ययोजनामा उल्लेख छ ।

निर्वाचन परिचालन प्रभावकारी बनाउन प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरिनेछ । ती कमिटीअन्तर्गत प्रचारप्रसार, डिजिटल प्रचार, मतदाता सम्पर्क, जनसङ्गठन परिचालन, आर्थिक तथा स्रोत व्यवस्थापन, कानुनी सहायता र अनुगमनका उपसमिति सक्रिय बनाइने प्रस्ताव छ । साथै, प्रत्येक पालिका र वडामा निर्वाचन कार्यालय स्थापना गरी सूचना, अभिलेख र स्वयंसेवक व्यवस्थापनलाई व्यवस्थित गरिनेछ ।

स्थानीय जनताका दैनिक सरोकार र आवश्यकता समेटेर कार्यान्वयनयोग्य प्रतिबद्धतापत्र तयार पार्ने योजना पनि एमालेले अघि सारेको छ । विपक्षी दलका कमजोरीमाथि तथ्यपूर्ण रूपमा आफ्ना नीति र विकासका उपलब्धि जनतासमक्ष पुर्‍याउने तथा डिजिटल प्लेटफर्मको अधिकतम प्रयोग गर्ने कार्ययोजनामा उल्लेख छ ।

डिजिटल माध्यमबाट हुने भ्रामक प्रचारको तथ्यगत प्रतिवाद गर्न छुट्टै संयन्त्र निर्माण गर्ने प्रस्तावसमेत गरिएको छ । केन्द्रीय तहदेखि टोलसम्म संगठन परिचालन गर्दै आगामी स्थानीय तह निर्वाचनमा पार्टीको प्रभावकारी उपस्थिति स्थापित गर्ने एमालेको लक्ष्य छ ।