काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखाबाट अश्लील गालीगलौज गरिएको भाइरल अडियो प्रकरणमा संलग्न दुवै प्रहरी कर्मचारी हवल्दार रहेको पुष्टि भएको छ । आफूलाई प्रहरी नायब निरीक्षक (सई) बताउने सञ्चार शाखाका कर्मचारीको वास्तविक दर्जा पनि हवल्दार नै रहेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले घटनामा संलग्न दुवै प्रहरी हवल्दार रहेको पुष्टि गर्दै उनीहरूमाथि प्रहरी नियमावलीअनुसार विभागीय कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।
भाइरल अडियोमा सुनिने सञ्चार शाखाका कर्मचारीले आफ्नो वास्तविक दर्जा लुकाएर आफूलाई सई भन्दै परिचय दिएका थिए । हराएको छोराको विवरण टिपाउन फोन गरेका प्रहरी हवल्दार सुरेशप्रसाद यादवसँग उनले अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो ।
प्रहरीका अनुसार नागरिकको समस्या सुन्नुपर्ने जिम्मेवारीमा रहेका कर्मचारीबाट भएको यस्तो व्यवहार व्यावसायिक आचरणविपरीत र गम्भीर अनुशासनहीनता हो । उक्त घटनामा संलग्न सञ्चार शाखाका कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी शाहीले बताएका छन् ।
यस्तै, सञ्चार शाखाका कर्मचारीसँग भएको आन्तरिक टेलिफोन संवाद रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा अर्का हवल्दार सुरेशप्रसाद यादव पनि कारबाहीको दायरामा परेका छन् ।
दुवै प्रहरी कर्मचारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा झिकाइएको छ । घटनाको छानबिन गर्न एसएसपी प्रभुप्रसाद ढकालको नेतृत्वमा समिति गठन गरिएको छ ।
यसैबीच, हवल्दार यादवका छोरा हराएको विषय पनि सत्य रहेको प्रहरीले जनाएको छ । डीएसपी शाहीका अनुसार उनका छोरा शुक्रबार बिहानदेखि सम्पर्कविहीन छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालयमा औपचारिक निवेदन दर्ता भइसकेको र खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
डीएसपी शाहीले नेपाल प्रहरीको करिब ८० हजार जनशक्तिमध्ये केही कर्मचारीबाट हुने यस्ता अमर्यादित गतिविधि दुःखद भएको बताएका छन् । उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रहरी कर्मचारीलाई पुनर्ताजगी तालिम, सचेतनामूलक कार्यक्रम तथा आचारसंहितासम्बन्धी प्रशिक्षणलाई थप प्रभावकारी बनाइने बताए ।












