काठमाडौं । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ सम्पर्कविहीन भएका छन् । उनलाई पक्राउ गर्न उच्च अदालतले अनुमति दिए पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको सार्वजनिक रूपमा स्वीकार गरेको छैन ।

प्रहरी उच्च स्रोतका अनुसार बानियाँको खोजीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित छ । यसअघि उनका छोरा दीक्षान्त बानियाँ र भतिज ऋषि बानियाँ कर्जा दुरुपयोगको आरोपमा पक्राउ परेका थिए । उनीहरू पक्राउ परेपछि इन्द्र बानियाँ पनि सम्पर्कबाहिर रहेको बताइएको छ ।

ADVERTISEMENT

छोरा र भतिजालाई पक्राउ गरेको सीआईबीले भने इन्द्र बानियाँको खोजी वा पक्राउबारे आधिकारिक जानकारी दिन चाहेको छैन । सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले यस विषयमा केही बताउन चाहेनन् ।

ADVERTISEMENT

यता, बानियाँका पारिवारिक स्रोतले प्रहरीले उनलाई काठमाडौंको छैमलेबाट पक्राउ गरेर भृकुटीमण्डपस्थित नगर प्रहरीको हिरासतमा राखेको दाबी गरेका छन् । तर नगर प्रहरीसँग आवासीय हिरासतको व्यवस्था नरहेको र प्रहरीले पनि उनको पक्राउबारे पुष्टि नगरेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत बानियाँलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

प्राप्त विवरणअनुसार उनका छोरा दीक्षान्तलाई कात्तिक १६ गते रुपन्देहीको भैरहवाबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट उनलाई भेट्न पुगेका भतिज ऋषि बानियाँ पनि पक्राउ परेका थिए ।

पूर्वमुख्यमन्त्री बानियाँमाथि विभिन्न चारवटा बैंकबाट ‘अन्डरग्राउन्ड सिमेन्ट कम्पनी’का नाममा लिएको ३४ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोप लागेको छ । यही प्रकरणमा पक्राउ परेका उनका छोरा र भतिजामाथि मुद्दा चलाइएको छ ।