काठमाडौं । गत शुक्रबार सुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरू पारित गरेको छ ।
विधान महाधिवेशनभर सबैभन्दा बढी चासोको विषय बनेको थियो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरणको विषय ।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले उनको सदस्यता नविकरणको विषयमा कुनै निर्णय गरेन । यो सँगै विद्याको सदस्यता नविकरण नहुने केन्द्रीय कमिटीको निर्णय सदर भएको नेताहरूले बताएका छन् । तर, प्रतिवेदनमा भने यो विषयमा केही बोलिएको छैन ।
एमालेमा नेतृत्वमा रहेको ७० वर्षको उमेरहदको विषय हटेको छ । अध्यक्षमा दुई कार्यकाल मात्रै रहन पाउने सीमा पनि हटेको छ । यो सँगै केपी शर्मा ओलीलाई फेरि अध्यक्ष हुने बाटो खुला भएको छ ।
सबै प्रतिवेदन गत शुक्रबार प्रस्तुत भएका थिए । शनिवार १० वटा समूह बनाएर छलफल भएको थियो । आइतबार समुहगत छलफलमा आएका सुझाव प्रस्तुत भएका थिए ।







