काठमाडौं । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै टोलीका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी आठवटै क्लबका आफ्नै क्रिकेट रंगशाला निर्माण गरिने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री शाहका अनुसार क्रिकेट रंगशालाहरू नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ । फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया यसअघि नै अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइनेछ ।
सरकारले क्लबअनुसार निर्माण गर्ने रंगशालाको विवरणसमेत सार्वजनिक गरेको छ ।
जसअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिनेछ ।
त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशालालाई तोकिएको छ ।
प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।












