काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आजबाट सुरु भएको छ। बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने मुख्य एजेन्डा रहेको छ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन हुने भएकाले त्यसअघि निर्णय लिन बैठक बोलाइएको नेताहरूले बताएका छन्। यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्।

पार्टी स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ। हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नका उम्मेदवार मैदानमा उतार्ने तयारी गरेको छ।

बैठकबाट उम्मेदवार चयनको अन्तिम सूची सार्वजनिक हुने बताइएको छ।